प्रचण्डकाे ‘नयाँ युगकाे पदचाप’ पुस्तक बजारमा
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ पुस्तक सार्वजनिक भएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त बिचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याइएको हो।
महान् जनयुद्धको कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिनुभएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा पाइन्छ।
पुस्तकमा प्रधानमन्त्रीत्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ। पुस्तकमा अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीका रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधनहरु समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ। पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ।
विश्वलाई तरंगित गर्ने गरी भएको नेपालको जनयुद्ध र त्यसले ल्याएका सकारात्मक परिणामनै अहिले संविधानमा लिपिबद्ध गरिएका विषयवस्तु हुन्।संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशीता लगायतका उपलब्धि महान् जनयुद्धको जगमै प्राप्त भएका हुन्। जनयुद्धको सकारात्मक प्रयासका विषयमा अध्ययन तथा अनुसन्धानका लागि प्रस्तुत पुस्तकले ज्ञान दिनेछ। वर्तमान नेपाली राजनीतिलाई बुझन र बुझाउन पनि प्रस्तुत पुस्तकले महत्वपूर्ण सामग्री प्रदान गर्ने छ।
माओवादी आन्दोलनले उठाएका एजेन्डा र ती एजेन्डालाई संस्थागत गर्न चाहनेका लागि प्रस्तुत पुस्तकले अध्ययन–अनुसन्धानका लागि ढोका खोलिदिन सक्छ। एउटा क्रान्तिकारी नेताले सरकारको नेतृत्वमा पुगेर लिएका निर्णय, दिएका अभिव्यक्ति, अगाडि सारिएका योजना, कार्यान्वयन गर्ने अग्रसरता, शान्ति, संविधान र समृद्धिका लागि नेतृत्वमा देखिएको हुटहुटी प्रस्तुत पुस्तकमा पढ्न पाइन्छ। पुस्तकमा तत्कालीन अवस्थामा अध्यक्ष कमरेड प्रचण्ड सहभागी भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय बैठक, भेला र छलफलका तस्बिरहरु पनि समावेश गरिएको छ। पुस्तकमा ४०४ पृष्ठहरु रहेका छन्। प्रतिष्ठानले पुस्तकको मूल्य रु. ७५० रहेको छ।