नेकपा विवाद समाधान उन्मुख : यो हो सहमतिको खाका

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधान उन्मुख भएको छ । अहिले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच सहमतिका विषयमा अन्तिम छलफल चलिरहेको छ । विचार, महाधिवेशन केन्द्रित कार्यक्रम, अन्य काम बाँडफाटलगायतका विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ ।

नेकपाका एक शीर्ष नेताका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच महाधिवेशनमा जानेगरी छलफल चलिरहेको छ । जुन विषयमा नेकपा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र सचिवालय सदस्य रामबहादुर थापा 'बादल'बीच पनि सहमति भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी विभाजनका लागि विभिन्न प्रयास जारी राखेपछि प्रचण्ड नेपाल समूहले तत्काल सहमति गरेर महाधिवेशन केन्द्रित हुनेगरी अगाडि बढ्ने रणनीति बनाएको स्रोतको दावी छ । महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले पनि ओलीलाई महाधिवेशन केन्द्रित भएर अगाडि बढ्न सुझाव दिएका छन् ।

सहमतिको विन्दु के होला त ?

लामो समयको छलफलपछि नेकपामा सहमतिको वातावरण बन्दै गएको छ । स्रोतका अनुसार प्रचण्डलाई महाधिवेशनबाट एकल अध्यक्ष मान्न ओली तयार भएका छन् । ओलीले महाधिवेशनबाट पार्टी राजनीतिक लाइन 'जनताको जनबाद' मानेर जाने विषयमा सहमति गरिसकेका छन् । उनले जबजलाई छलफलको विषय बनाए पनि महाधिवेशनबाट नयाँ विचारसहित अगाडि बढ्ने कुरामा सहमति गरेका छन् ।

सहमति कायम गर्ने दौडधुपमा रहेका एक नेताका अनुसार महाधिवेशन चैतसम्म सम्पन्न गर्न अहिलेकै पार्टी संरचनालाई महाधिवेशन आयोजक समिति बनाउने, पूर्ववत अवस्थालाई ध्यान दिएर महाधिवेशन प्रतिनिधि चयन गर्ने, महाधिवेशनमा अहिलेकै अन्तरिम राजनीतिक लाइन 'जनताको जनबाद'लाई तत्लो तहबाटै छलफल गरेर लैजाने, सहमतिमै महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने लगायतका विषयमा शीर्ष नेतृत्वबीच सहमति भएको छ ।

महाधिवेशन केन्द्रित छलफल सहमतिमा पुगेमा ओलीले स्थायी कमिटी र पार्टी केन्द्रीय कमिटी बैठकमा अहिलेसम्म भएका प्रक्रियामा गल्ती स्वीकार गरेर सच्चाउने प्रतिबद्धता जनाउने, अहिलेसम्मका गलत नियुक्तको पुनर्विचार गर्ने, अब गर्ने राजनीतिक नियुक्तीमा पार्टीको सचिवालयमा छलफल गर्ने, सरकारलाई प्रभावकारी पार्नका लागि मन्त्रिपरिषद्का सदस्य फेरबदल गर्ने, केही मुख्यमन्त्रीहरु पनि परिवर्तन गर्ने र पाँच वर्षसम्म सरकारको नेतृत्व ओलीले नै गर्नेगरी सहमतिको सम्भावना बलियो भएको एक नेताले बताए ।

महाधिवेशनसम्म पार्टीको बैठक बोलाउने, पार्टीका पार्टीका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको अध्यक्षता गर्ने, निर्णय कार्यान्वयन गर्ने र गराउने, महाधिवेशनको तयारी गर्ने, वैचारिक बहस अगाडि बढाउनेसहित पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डले प्रयोग गर्ने तथा महाधिवेशनपछि ओली वरिष्ठ वा मानार्थ नेताको रुपमा रहनेगरी सहमतिको खाका तयार भएको छ ।

दुबै पक्षमा सहमतिको आ-आफ्नै व्याख्या

महाधिवेशन केन्द्रित छलफलमा सहमति उन्मुख भएपछि ओलीले बुधबार एक टेलिभिजन कार्यक्रममार्फत अबको पाँच दिनभित्र सहमति हुने बताएका थिए । तर, प्रचण्ड-नेपाल पक्षले भने ओलीले विगतमा जस्तै सहमति गर्ने र पालना नगर्ने हुन् कि भन्ने आशंका व्यक्त गरेको छ ।

अहिलेको सहमतिमा साच्चै इमान्दार भएर लागू गर्ने अवस्थामा पार्टीले नयाँ विचारसहित नयाँ स्थान हासिल गर्ने नेकपाका एक स्थायी कमिटी सदस्यले बताएका छन् । बालुवाटार निकट स्रोतले दिएको जानकारी अनुसार ओलीले आफूलाई सच्चाउने प्रतिवद्धतासहित महाधिवेशनमा जानेगरी पहल लिन खोजेका छन् । 

वैचारिक राजनीतिक लाइनसहित महाधिवेशनमा जादा तल्लो तहदेखि नै गुटबन्दी हुने एकथरीको आशंका छ भने अर्कोथरीले सहमतिको कार्यान्वयन हुनेमा शंका व्यक्त गरेको छ । दुवैले आफू अनुकूल अहिले सहमति उन्मुख भएको छलफललाई व्याख्या गरेका छन् ।

Related Post
कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

कांग्रेस लाई सहि दिशा प्रदान गर्न नेतृत्व लिन तयार छौ:कॉग्रेस युवा नेता हरू

युवा नेता हरू डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाँई, रामकृष्ण यादव, किरण यादवको नाममा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ