प्युठान जिल्लाका केही पत्रकार साथीहरू प्रति गुनासो:सुवाश संयम

पत्रकार साथीहरू केही समय यता तपाईहरुका गतिविधिहरु नजिकैवाट नियाल्ने अवसर मिल्यो । उसो त जिल्ला बाहिर बसेरै पनि तपाईहरुका हर्कतहरु हेरिरहन्थें । एउटा कुरा सत्य हो कि आज कुनैपनि पत्रकार स्वतन्त्र छैन । कुनै न कुनै रूपमा कुनै एउटा दलसङ आवद्ध छन् नै । तपाईहरु त्यसवाट अछुतो हुने कुरा भएन । तरपनि मैले अन्य जिल्ला र राजधानीमै पनि कयौं पत्रकारहरु भेटेको छु जस्को आस्था जतासुकै भएपनि कम्तिमा समाचारको प्रकाशन र प्रसारण गर्दा भने जो सुकैका समाचारहरुलाई प्राथमिकता दिएका हुन्छन् , छापेका हुन्छन्, प्रकाशन गरेका हुन्छन् ।

प्युठानका धेरै जसो पत्रकार साथीहरूले भने अहिले आफ्नै दलको बाहेक अरु कसैको कुनै समाचार प्रकाशन गरेको हेर्न वर्ष कुर्नुपर्छ । आफ्नै दलको पनि निस्चित गुटको समाचार छाप्नुहुन्छ । अझ भन्ने हो भने फेरो समाएको एउटा कुनै नेताको मात्र समाचार छाप्नुहुन्छ । यो समाचार भन्दापनि चाकडी बढी हुन्छ । उहाँहरुलाई चाकडी प्रिय लाग्छ । आफ्नो नेता र पार्टी बाहेकको समाचार त्यतिबेला समाचार बन्छ जब उछितो काड्नुपर्छ, हुर्मत लिनुपर्छ ।

प्युठान जिल्लामा ९ वटा स्थानीय तह छन् । ती मध्य झिमरुक र मल्लारानी गाउँपालिका राष्ट्रिय जनमोर्चाले नेतृत्व गरिरहेको छ । केही पत्रकार बाहेक अधिकांश पत्रकारहरुले झिमरुक र मल्लरानीको न्युज नै छाप्दैनन । छाप्नै परे झुटो, कपोकल्पित र भ्रामक समाचार छाप्छन् । केही महिना अगाडीसम्म कुनै कुनै पत्रकारले त यति सम्म कि जिल्लाबाट पठाउने अरु समाचार नपाएपछी झिमरुकको पुल र धरमपानीको खानेपानीको न्युज २ महिनामा १ पटक सम्म पनि छाप्थे । ती न्युजहरु उनिहरुका ब्याक्तिगत अनलाइन देखि राष्ट्रिय खवर सम्म बनाइरहन्थे । केही महिना भयो मैले त्यो पुल र खानेपानीको समाचार नदेखेको ।

ती साथीहरूमा पुर्वाग्रह यति सम्म छ कि यसको गत्तिलो एउटा उदाहरण छ । गत चैत्रको ११ गते देखि मुलुक भर लकडाउन भयो । सरकारले त्यसको १ हप्तामा नै राहत वितरण गर्न स्थानीय तहहरुलाई निर्देशन गर्‍यो । त्यति छिटै राहत वितरण गरिहाल्नुपर्ने कुनै जरुरी थिएन । तर पनि प्युठानमा सबै ठाउँमा धमाधम राहत वितरण सुरु भयो । मल्लरानीले पनि लकडाउन भएको ११औं दिनमा राहत वितरण गर्‍यो । मल्लरानीले राहत वितरण गरेको साँझ तिर एउटा राष्ट्रिय अनलाइन मिडियाले मल्लरानीमा राहत वितरणमा विभेद भएको भनेर समाचार छाप्यो । त्यही समाचार पढ्दै जाँदा थाहा भयो कि त्यो न्युज कति पुर्वाग्रह पालेर लेखिएको थियो । एकजना महिलाले आफुले राहत नपाएको भनेर गुनासो गरिछन्, उनका श्रीमान विदेश रहेछन् । विदेशबाट पैसा नपठाएको १४ दिन भएकोले उनको घरमा चुलो बलेन रे, उनलाई गाउँपालिकाले राहत दिएनछ । एकापट्टी हाम्रो जस्तो गाउँहरुमा लकडाउन हुँदा खासै फरक पर्दैन, अर्को तिर गाउँका घरमा लकडाउन हुदा बित्तिकै भोकमरीको स्थिति आउदैन । एकदमै गरिवको घरमा पनि केही दिनको लागि खाने खर्च हुन्छ । हुन सक्छ एउटा गाउँमा २/४ परिवार बिहान बेलुकी खान कामनै गर्नुपर्ने हुन सक्छ । ती महिलाका श्रीमान त विदेश रहेछन् , पैसा नपठाएको केही दिन भएको रहेछ । भनेपछि गाउँमा त्यतिको परिवार मागेरै खाने स्थितिमा त पुगेको थिएन होला नि? यदि त्यतिबेला नै त्यो स्थितिमा पुगेको भए आज ६ महिना सम्म त्यो परिवारको हालत के होला? त्यो न्युज अहिले पनि सम्झिन्छु, कहिलेकाही ती पत्रकारले लेखेका अरु न्युजहरु आउदा सोच्छु त्यो दिदी भोकले अहिले सम्म कसरी बाँचेकी होलिन? सरकारले आजकल राहत त बाँडेको छैन ! यो त एउटा मात्रै उदाहरण हो- चरम प्रकारको कुण्ठा र पुर्वाग्रहको ।

आजकल झिमरुकका केही न्युजहरु आईरहेको देख्छु- "झिमरुकमा भयो लफडा! झिमरुकमा खैलाबैला! झिमरुकमा खिचलो!" यस्तै यस्तै । तिनिहरुले मनलाग्दी समाचार लेखेका हुन्छन् । तथ्यमा गएर होइन, सत्य पत्ता लगाएर होइन । खाली प्रतिसोधको लागि, बेईजत र बदनाम गर्नको लागि । अहिले गुमनाम हुने डरले केही मान्छेहरुले झिमरुकमा प्रोपोगन्डाहरु गरिरहेका हुन्छन् तिनै कुराहरुलाई लिएर केही साथीहरूले न्युज लेख्छन् । नकारात्मक एङल मिलाई मिलाई । बखेडा गरेको कस्ले छ? खैलावैला किन गरेको हो, किचलो कस्ले किन निकालेको हो तिनिहरु पुराका पूरा वेखवर छन् । बस् उनिहरुले आफ्नो ड्युटी पूरा गरे । किनकी उनिहरुले जागिर त्यसैको लागि खाएका हुन्छन् । नत्र उहीँ प्रकारको अर्को गाउपालिकाको न्युज नै आउदैन, आइहाले बेग्लै एङलवाट आउँछ । जस्तै आजै मात्रै एरावती गाउँपालिकाको एउटा न्युज आएको छ, सबैको बाल हेरिरहेको छु त्यहाँ कसैले खैलाबैला,लफडा र खिचलो देखेको छैन । नदेख्नु राम्रो हो । तर कुण्ठा र पुर्वाग्रह पाल्नु रोग हो ।

झिमरुकमा अहिले कयौं सकारात्मक कामहरु भएका छन् । जुन अरु स्थानीय तहमा भएका छैनन् । ती विषयहरु खोज्न कुनै पनि पत्रकार झिमरुक आएको देख्दिन । न ती विषय समाचार नै बनेका छन् । जे विषय विपक्षीहरुले उचालिरहेका छन् ती खाली `के निहुँ पाउँ कनिका बुकाउँ´ मात्र हुन् । निहुँ खोजेका कुरा पनि न्युज हुन्छन् र?

हिजो मात्रै संसद दुर्गा पौडेलको अध्यक्षतामा जिल्लामा एउटा वैठक बस्यो । उहाँकै पहलमा जिल्लाका करिव १८ सय खरका छाना भएका घरहरुमा जस्ता लाग्ने भए । यो एउटा महत्त्वपूर्ण काम होइन र? अहिले सम्म खरले छाएको घरमा बस्ने मानिसको आर्थिक स्थिति कति कमजोर होला? त्यस्ता १८ सय परिवारले जस्ता पाउदैछन् । त्यो निर्णय पछि त्यसबारेको न्युज संसदको निजि सचिवालय, हाम्रा फेसवुक र धेरै साथीहरूबाट सेयर भयो । तर जिल्लाका धेरै पत्रकार साथीहरूले त्यो समाचार प्रकाशन गरेनन् । प्रकाशन गरेकाहरुले एति सम्म गरे कि दुर्गा पौडेलको नाम कहिकतै उल्लेख नै गरेनन् । ल ठिक छ यो दुर्गा पौडेलले घरवाट लिएर दिएको होइन । नेपाल सरकार र केपिकै बाउको सम्पती भयो रे तर कोर्डिनेशन गरेको, काठमाडौमा पटक पटक आफ्नो लेटरप्याड लिएर धाएको, अनि प्युठान आएर आफ्नै अध्यक्षतामा बैठक राखेको त हो नि होइन र? अनि के दुर्गा पौडेलको नाम लिएको भए आकाश खस्थ्यो ?

यो भन्दा हद दर्जाको पित पत्रकारिता अरु के नै हुन सक्ला र?

तिनै साथीहरूले दुर्गा पौडेलले केही गरिन भनेर प्रचार गर्दै हिड्छन । फेसबुक रङ्गउछन् । तर संसद कोषको रकमले कहाँ कहाँ के के काम भयो त्यो खोज्दैनन् , ती कुराहरु प्रकाशन गर्दैनन् । हुनत हामीलाई मिडियामा जातिविती आउनु पनि छैन । पत्रकारले लेखेनन् भनेर चिन्ता लागेको पनि होइन । दलका झोला बोकेर अलिकती भाग लिएर लेख्ने भन्दा पनि हामी प्रती सदासायता राख्ने हाम्रा शुभचिन्तकहरुले हाम्रो कामको जहिल्यै प्रचार गरेका छन, प्रसारण गरेकाछन् । जनताले आफै गरेको प्रचार र प्रसारण त्यस्ता भाडावाल भन्दा धेरै ठूलो हुदो रै छ। जुन भैइरहेको पनि छ । तर पनि यहि समाज र जिल्लावासी भएको हैसियतले राज्यका चौथो अंग भनिएकाहरुको यो कालो कलरप्रतिको गुनासो हो ।

Related Post
मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

मुसिकोट ७मा निर्माणाधीन परूवा प्रतिक्षालयको आय ब्यय सार्वजनिक

अहिलेसम्म परूवा प्रतिक्षालय निर्माणको लागि पुष्पाञ्जली युवा क्लबको तर्फबाट रु तीन लाख,त्यस्तै गरेर देश विदेशमा रहनु भएका सहयोगदाता हरुबाट ११लाख ६४हजार२८४ सहयोग रकम प्राप्त भएको छ। खर्चतर्फ ७लाख ४६हजार ३९२ भएको आयोजकले बताएको छ।

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन

नेपाल लगायत झन्डै १८ देश मा छरिएर रहेका गुल्मीको ठुलाखर्कमा जन्मनु भएका युवा हरू वामी विश्व सम्पर्क मन्च, ठुलाखर्क इकाइ गठन गर्न सहमत हुनुभएको छ।