१३ दिने किरिया ७ दिनमै,साढे २ लाख दान घोषणा

गुल्मी चन्द्रकोट गाउँपालिका ४ को थापा परिवारलाई शोक पर्यो।पिता तेज बहादुर थापाको निधनपछि छोराहरु तेजेन्द्र थापा ,वीर बहादुर थापा र केशब थापाले मृत्यु संस्कार (किरिया) ७ दिनमा सक्ने र पिताको नाममा सामाजिक कार्यमा सहयोग गर्ने योजना बनाए ।
नजिकका दाजुभाईसँग पनि सल्लाह गरे । पण्डितहरुसँग पनि छलफल भयो । केही दाजुभाईको असहमति भएपनि समाज परिवर्तनको शुरुवात आफैबाट गर्नुपर्छ भन्ने निश्कर्षमा पुगे । सातौँ दिन अर्थात् असोज १८ मा पितृ प्रसाद ग्रहणका लागि मलामी, चेलीबेटी , ईष्टमित्र र छरछिमेकी सबैलाई निम्तो गरियो ।
तर केही दाजुभाइले पुण्यतिथी वहिस्कार गरे । आफू पितृ प्रसादमा नजाने निर्णय मात्रगरेनन् कि केही पण्डितहरूले ७ दिने कर्म गराउन तयार भएकाहरूलाई समेत चेतावनी दिएर रोके । तर विधि अनुसार आफै कर्म उम्काएर चेलिबेटीलाई दिनुपर्ने दान दक्षिणा दिए ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका माइलाछोरा तेजेन्द्र समाज परिवर्तनको शुरुवात गर्दा हुने यस्ता अबरोधलाई खासै ठूलो रुपमा लिन नहुने बताउँछन् । ‘पण्डित र केही दाजुभाई नभएपनि शास्त्रीय विधि अनुसार नै भान्जा, भान्जी , चेलिबेटीलाई दक्षिणा टिकाटालो गरियो’, उनी भन्छन्, ‘दानका हिसाबले पण्डितहरुलाई दिने दानलाई विभिन्न विद्यालयमा अक्षयकोष र राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गयौँ । संस्कार पनि चल्यो, सामाजिक क्षेत्रमा सहयोग पनि गरियो ।’
थापा परिवारले गाउँकै उदय माबी शान्तिपुरमा एक लाख र चन्द्रकोट ३ को बालबोध आधारभूत प्राविमा पचास हजारको अक्षयकोष स्थापना र थापाहरुको भाईकोषमा पचास हजार र महाबिर पुनको राष्ट्रिय अविस्कार केन्द्रलाई बीस हजार सहयोग दिने निर्णय गरेका छन्।‘बुबाको १३ दिने संस्कारमा हुने खर्चबाट ७ दिनमा संस्कार पनि पूरा गर्दै विभिन्न क्षेत्रलाई सहयोग गरेर उहाँको नाम राख्न पाउनु पनि महत्वपूर्ण लागेर हामीले यसो गरेका हौँ’, जेठा छोरा बिर बहादुर भन्छन्, ‘यसमा अप्ठ्यारो मान्नुपर्ने, अचम्म मान्नुपर्ने त्यस्तो केही छैन।’जुद्धशमशेरले ४५ बाट १३ दिनमा झारेको संस्कार, अहिले ७ दिन मृत्यु पछि १३ दिने किरीया संस्कार घटाउने विषयमा पुरोहितहरुले पनि बहस चलाईसकेका छन् । पौराणिककालको मृत्यु संस्कारलाई समय अनुसार रूपान्तरण गर्नुपर्ने, अनावश्यक रूपमा फजुल खर्च गर्ने परम्पराको अन्त्य गर्नुपर्ने र बदलिंदो जीवनशैली, व्यस्त समय र सांस्कृतिक सचेतनाका कारण मृत्यु संस्कार छोट्याउनै पर्ने पक्षमा सुधारका अभिन्ताहरुले पनि वकालत गर्दै आएका छन् । संस्कार सुधार समाजले त मृत्युसंस्कार पाँच दिनमा नै सकाउनुपर्ने अभियान चलाएको छ।हिँन्दु परम्परामा किरिया बार्ने नियम समयक्रममा सरलीकरण हुँदै आएको इतिहास छ। कुनै बेला १३ वर्षको संस्कार पछि १३ महिना, ६ महिना, ४५ दिन हुँदै १३ दिनमा जारी रहेको जानकारहरु बताउँछन् ।

नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेर पालासम्म किरिया ४५ दिन बार्ने चलन थियो। भारतको आर्यसमाज गुरुकुलबाट फर्केका शुक्रराज शास्त्रीले ४५ दिनको चलन ‘अवैदिक’ भएको तर्क राखे।दरबारका पण्डित–पुरोहितले शास्त्रीको तर्क खण्डन गरे। जुद्धशमशेरलाई भने शास्त्रीको भनाइ जच्यो। उनले वाल्मिकी रामायणको अयोध्याकाण्डसँग मेल खाने गरी १९९३ सालमा तेह्रदिने सामाजिक कानुन बनाए। अयोध्याकाण्डमा भरतले १३ दिन बारेको उल्लेख छ।
जुद्ध शमशेरले ७९ वर्षदेखि चल्दै आएको ४५ दिने किरियाविधि १३ दिनमा झारेका थिए भने यसपालि ८१ वर्षपछि अझ सरल गर्नुपर्ने बहससँगै गुल्मीको थापा परिवारले यसको कार्यान्वयन गरेको छ।१३ दिने किरिया सात दिनमै गरेर दानको रकम समाजसेवामा लगाउने वीर बहादुर, तेजेन्द्र र केशवसबै अंग दान गर्ने घोषणा, मृत्यु पछिको कुनै पनि कर्म नगरिदिन आग्रह|
जसपाका केन्द्रीय सदस्य थापाले जन्म र मृत्यु निरन्तर चलिरहने एक स्वभाविक घटना भए पनि आफ्नो अभिभावक गुमाउदाको अबस्था पिडादायी नै हुने भएकोले मृत्यु पछि गरिने कर्मका कारण शारीरिक पीडामा पर्न नहुने शास्त्रीय मान्यता रहेकोले आफूले ७ दिनमा किरिया सम्पन्न गरेको बताउँछन्।त्यसका लािग आफ्नो परिवारले सामाजिक संस्कार सुधारको अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफूहरुले गरेको कार्यलाई समर्थन नगरी आलोचना र असहयोगले समाज परिबर्तनका लागि लाग्न अझ बढी प्रेरणा प्रदान गरेको समेत बताए ।
थापाले परिवर्तनकै अभियान स्वरुप आफ्नो शरिरका सबै अंग अध्ययन अनुसन्धानका लागि दान गर्ने घोषणा गरेका छन्। उनले आफ्नो मृत्युपछि कुनै किरिया कर्म नगरिदिन पनि आग्रह गरेका छन् । ‘मृत्यु पछिको मेरो भौतिक शरीरमा भएका काम लाग्ने अंगहरुलाई प्रत्यारोपण गर्ने र बाकि शरीर अध्ययन अनुसन्धानका लागि विधि र प्रकृया पुर्याएर कुनै चिकित्सा बिज्ञान अध्ययन संस्थानलाई दान दिने घोषणा गर्दछु’, उनी भन्छन्, ‘मृत्यु पछिको कुनै पनि कर्म नगरिदिनुहुन सबै घरपरिवार , दाजुभाइ , ईष्टमित्र र छिमेकीहरुलाई हार्दिक अनुरोध गर्दछु ।’