गुल्मीको वामीटक्सारमा सिकाइ आपूरण तालिम सम्पन्न
रामकृष्ण कंडेल,वामीटक्सार
मुसिकोट नगरपालिका शिक्षा साखाको आयोजनामा आधारभूत तहमा विभिन्न कारणले अपेक्षित शैक्षिक उद्देश्य हासिल गर्न नसकेका बालबालिकालाई लक्षित गर्दै सिकाइ आपूरण सम्बन्धी अभिमूखीकरण तालिम सम्पन्न गरिएको छ। सिकाइमा देखिएको सङ्कट, क्षति तथा ज्ञान निर्माणमा पछि परेका बालबालिकालाई पुनः सिकाइ उपलब्धि हासिल गराउने उद्देश्यका साथ महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, वामीटक्सारमा तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले बताऊनुभएको छ।
युनिक खबर संग कुराकानी गर्दै शिक्षा शाखा प्रमुख नेपालीले सिकाइ आपूरण कार्यक्रम हालको शैक्षिक आवश्यकता संग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो।
“विभिन्न सामाजिक, आर्थिक र शैक्षिक कारणले आधारभूत तहमा धेरै बालबालिकाको सिकाइ स्तर कमजोर देखिएको छ,” उहाँले बताउनुभयो, “यस्ता बालबालिकालाई लक्षित गरी फरक समय,फरक तरिका र फरक रणनीतिबाट सिकाइ सुनिश्चित गर्न विद्यालय नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ।”
शिक्षा शाखा प्रमुख नेपालीका अनुसार प्रधानाध्यापकलाई केन्द्रमा राखेर तालिम सञ्चालन गर्दा विद्यालयस्तरमै सिकाइ आपूरण योजना निर्माण,शिक्षक परिचालन र प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ। “यो तालिम केवल सैद्धान्तिक होइन,व्यवहारिक अभ्यासमा आधारित छ,” नेपालीले बताउनुभयो, “यसले विद्यालयहरूलाई सिकाइ क्षति न्यूनीकरण गर्दै गुणस्तरीय शिक्षा प्रवाह गर्न सहयोग पुर्याउनेछ।”
तालिममा सहभागी सितापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाकान्त न्यौपानेले सिकाइ आपूरण अहिलेको आवश्यकता भएको बताउनुभयो। “कोभिड पछिको अवस्थामा धेरै विद्यार्थी सिकाइमा पछि परेका छन्,” उहाँले बताउनुभयो, “यस किसिमको तालिमले विद्यालयलाई योजनाबद्ध रूपमा अघि बढ्न मद्दत गर्छ।”
त्यस्तै, गंगा प्राथमिक विद्यालय, मुसिकोट वडानं २ का प्रधानाध्यापक कौरब बहादुर खत्रीले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिनुभयो। “विद्यार्थीको वास्तविक सिकाइ स्तर पहिचान गरी त्यसअनुसार शिक्षण रणनीति अपनाउने विषयमा स्पष्टता आएको छ,” उहाँले बताउनुभयो, “यसले शिक्षक र विद्यालय नेतृत्व दुवैलाई मार्गदर्शन गरेको छ।”
सरस्वती माध्यमिक विद्यालय, मुसिकोट–१का प्रधानाध्यापक भिमलाल घिमिरेले पनि तालिमले विद्यालय सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। “सिकाइ आपूरणलाई विद्यालयको नियमित कार्ययोजनामा कसरी समेट्ने भन्ने विषयमा राम्रो छलफल भयो,” उहाँले बताउनुभयो, “यसले बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्न सहयोग गर्नेछ।”
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरू तालिमप्रति उत्साहित देखिएका छन्। मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले आगामी दिनमा पनि यस्ता शैक्षिक सुधारमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ।