आज साँझ आउँदै ‘मन परेको’, यमलालको सिर्जना,कमल बराल र देवी घर्तीको स्वरमा तीजको नयाँ स्वाद
रामकृष्ण कंडेल,वामीटक्सार✍️
हरितालिका तीजलाई लक्षित गर्दै बेलायतमा रहेका सर्जक यमलाल सापकोटाको सिर्जनामा तथा गायक कमल बराल र देवी घर्तीको स्वरमा सजिएको नयाँ तीज गीत ‘मन परेको’ आज साँझ ६ बजे सार्वजनिक हुँदैछ। गीतको भिडियो गायक कमल बरालको आधिकारिक युट्युब च्यानल ‘Kamal Baral’ मार्फत एकसाथ सार्वजनिक गरिने भएको हो।
गुल्मीको मुसिकोट नगरपालिका- ८ दाल्का र वामीटक्सार आसपासका रमणीय स्थलमा छायाङ्कन गरिएको भिडियोले गाउँघरको मौलिक परिवेश, प्राकृतिक सौन्दर्य र तीजको सांस्कृतिक भावलाई जीवन्त रूपमा प्रस्तुत गरेको निर्माण टोलीले जनाएको छ। प्रवासमा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय यमलाल सापकोटाले गीतमार्फत नेपाली मौलिकताको सुगन्ध दर्शक माझ पुर्याउने प्रयास गरेका छन्।
युनिक खबर संग कुराकानी गर्दै गायक कमल बरालले भिडियो छायाङ्कनको अनुभव केवल एउटा गीतको निर्माण प्रक्रिया नभई जीवनभर सम्झिरहने यात्रा बनेको बताए। “यात्रा केवल गन्तव्यसम्म पुग्नु मात्रै होइन,सम्झनाहरू संकलन गर्नु पनि रहेछ। वामीदाल्काको प्रकृतिको काखमा उभिएर कला, सङ्गीत र आफ्नोपनको सुन्दर संगम महसुस गर्ने अवसर मिल्यो। हामीले क्यामेरामा कैद गरेका दृश्य मात्र होइन, त्यहाँको आत्मीयता र अनुभूति पनि गीतमा उतार्ने प्रयास गरेका छौँ,” बरालको भनाई छ।
गायक बरालले दर्शक,श्रोताले गीतको भिडियो हेर्दा आफूहरूले छायाङ्कनका क्रममा महसुस गरेको भावना अनुभव गर्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार यमलाल सापकोटाको सिर्जना, देवी घर्ती संगको स्वर सहकार्य र सम्पूर्ण प्राविधिक टोलीको मेहनतले गीतलाई विशेष बनाएको छ। “हामीले माया र मेहनतले तयार पारेको यो तीज कोसेली लाई दर्शक,श्रोताले मन पराइदिनुहुनेछ भन्ने पूर्ण विश्वास छ,” उनले बताए।
गीतको भिडियोमा ओबी रायमाझी र आश्विन शाहीले आफ्नो स्वाभाविक अभिनय, जीवन्त अभिव्यक्ति र आकर्षक नृत्य प्रस्तुति मार्फत भिडियोको आकर्षण बढाएका छन्। गुल्मीकै माटोमा हुर्किएका यमलाल,ओबी र कमलले स्थानीय संस्कृति, मौलिकपन र तीजको उत्साहलाई पर्दामा प्रभावकारी रूपमा उतारेका छन्।
सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा गीतप्रति उत्सुकता बढिरहेको छ। मौलिक शब्द, आकर्षक सङ्गीत, गुल्मीको प्राकृतिक सौन्दर्य र अनुभवी कलाकारहरूको सहकार्यका कारण ‘मन परेको’ यस वर्षको तीजमा दर्शक,श्रोताको रोजाइमा पर्ने अपेक्षा निर्माण टोलीले गरेको छ।