स्वर्गीय सुदर्शन साक्यको स्मृतिमा महेन्द्र आदर्शमा पोशाक वितरण कार्यक्रम सम्पन्न
रामकृष्ण कंडेल,वामीटक्सार
स्वर्गीय सुदर्शन साक्यको पुण्य स्मृतिमा महेन्द्र आदर्श नमुना मा वि मा बालशिक्षा देखि ६ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ।अल्पायुमै असामयिक निधन भएका स्वर्गीय साक्य एक सरल,कर्मशील र समाजप्रति सदैव सकारात्मक सोच राख्ने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।साक्यको निधनले परिवार मात्र नभई समाजका लागि पनि अपूरणीय क्षति पुगेको छ।निकै सरल तथा सहयोगी स्वभाबका साक्यको सत्कर्म र सम्झनालाई निरन्तर जीवित राख्ने उद्देश्यले यो पुण्यकार्य गरिएको सन्तोष साक्यले युनिक खवर संगको कुराकानीमा बताऊनुभयो।
स्वर्गीय साक्यका दुई छोरीहरू हाल वामीटक्सारस्थित दुई बैंकहरू नेपाल बैंक र साईन रेसुंगा बैंकको शाखा प्रमुख पदमा कार्यरत रहनु भएको छ।कार्यक्रममा बोल्दै स्वर्गिय साक्यका छोरीहरू सजना र ले आफ्ना स्वर्गीय पिताको स्मृतिमा केही राम्रो र समाजोपयोगी कार्य गर्ने पारिवारिक निर्णय अनुसार विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको जानकारी दिनुभयो। उहाँहरूले हामिसंगको कुराकानीमा भन्नुभयो, “हाम्रो बाबाले जीवनभर इमान्दारिता,परिश्रम र समाजप्रतिको उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्नुभएको थियो।उहाँको सम्झनामा सानो भए पनि यस्तो पुण्यकार्य गर्न पाउनु हाम्रो लागि भावनात्मक मात्र नभई गर्वको विषय पनि हो।”
शिक्षा क्षेत्रमा गरिएको सहयोगले भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबिराम शर्माले स्वर्गीय सुदर्शन साक्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीहरूको शैक्षिक यात्रामा यस्ता सहयोगी हातहरूले ठूलो प्रेरणा दिन्छ। पोशाक वितरणजस्तो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि हुनुका साथै विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने काम गर्दछ।” प्रधानाध्यापक शर्माले भविष्यमा पनि यस्ता सामाजिक सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभएको छ।
यसैगरी,स्वर्गीय साक्यका सहोदर कान्छा भाइ तथा विद्यालयका वर्तमान विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष सन्तोष साक्यले आफ्ना दाजुको स्मृतिमा गरिएको यस कार्य अत्यन्तै प्रेरणादायी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो दाजु सधैँ शिक्षा र समाजसेवाप्रति संवेदनशील हुनुहुन्थ्यो। उहाँको सम्झनामा परिवारले गरेको यो सानो प्रयासले ठूलो सन्देश दिएको छ। यस्ता कार्यहरूले समाजमा सकारात्मक ऊर्जा फैलाउने विश्वास लिएको छु।” उहाँले विद्यालयको समग्र विकासका लागि विव्यस सदैव क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित पूर्व शिक्षक तथा समाजसेवी व्यक्तित्व नबिन कक्षापतीले स्वर्गीय सुदर्शन साक्यको स्मृतिमा उहॅाका २ छोरीहरू द्वारा गरिएको यस मानवीय कार्यको उच्च प्रशंसा गर्नुभयो।”यस्ता सामाजिक सेवाले भावी पुस्तामा सहयोग,सद्भाव र मानवताको भावना विकास हुने बताउँदै अन्य समुदाय र परिवारहरूलाई पनि यस्ता पुण्यकार्यतर्फ प्रेरित गर्ने”कक्षापतीले उल्लेख गर्नुभयो।
पोशाक वितरण कार्यक्रम लाई कक्षाध्यापकहरूले सहजीकरणमा सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक धनपती खरेलले गर्नुभएको थियो।कार्यक्रममा विद्यार्थी,शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
स्वर्गिय सुदर्शन शाक्यका छोरीहरु नेपाल बैङ्क लिमिटेड वामी शाखाकी प्रबन्धक मीरा शाक्य र शाइन रेसुङ्गा बैङ्क लिमिटेड वामी शाखाकी प्रबन्धक सजना शाक्यको सहयोगमा बुवाको स्मृतिमा कक्षा बालविकासदेखि कक्षा ६ सम्मका २२६ विद्यार्थीहरुलाइ दुई लाख २६ हजारको लागतमा न्यानो पोशाक वितरण कार्य लाई सबै क्षेत्र बाट प्रसंसा गरिएको बिद्यालयका शिक्षक बिष्णुप्रसाद आचार्य चकितले बताऊनुभयो।
स्मरणरहोस स्वर्गिय सुदर्शन शाक्यको ५४ बर्षको उमेरमा ०७८ सालमा उपचारको क्रममा निधन भएको थियो।