आज धान्यपूर्णिमा : योमरी पुन्ही मनाइँदै

नेपाल संवत्अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन योमरी पुन्ही मनाइने गरिन्छ । योमरी पुन्ही (पूर्णिमा) काठमाडौं उपत्यकालगायत देशैभरि मनाइन्छ । विशेष गरी नेवार समुदायका मानिसले यो पर्व धुमधामसँग मनाउँछन् । योमरी पुन्ही नेवार समुदायको प्रचलित खाना योमरीसँग जोडिएको छ ।

योमरी

योमरीको शाब्दिक अर्थ प्यारो रोटी हो । यः को अर्थ प्यारो र राम्रो तथा मरी भनेको रोटी भन्ने हुन्छ । योमरी सबैलाई मन पर्ने भएकाले यसको नाम योमरी राखिएको मानिन्छ । योमरी दिन र रातसँग पनि जोडिएको पाइन्छ । बाहिरको चामलको सेतो र भित्रको कालो भागलाई उज्यालो र अँध्यारोको प्रतीक समेत मानिन्छ ।

सांस्कृतिक महत्व

योमरी एक मात्र यस्तो खानेकुरा हो जसलाई सम्पूर्ण नेवार समुदायका मानिसले एकै ठाउँमा बसेर खान्छन् । यमरी हरेक घरमा ठूलो मान्छेले मात्रै बनाउने चलन छ । योमरी पुन्हीको दिन सबै जातका मानिस एकै ठाउँमा बसेर भोजन गर्छन् । त्यो दिन जाति र समुदायबीचमा कुनै भेदभाव गरिँदैन । योमरी सित्तैमा खाइँदैन । सबैले पैसा तिरेर खाने भएकाले त्यसबाट उठेको अधिकांश रकम समाजसेवामा खर्च गरिन्छ । मन्दिरको पेटी बनाउने, बाटो बनाउने, इनार खन्ने, पर्खाल लगाउने, मन्दिरमा भ¥याङ बनाउने आदि जस्ता सामाजिक काममा खर्च गरिन्छ ।

पछि गएर योमरीको नाममा भजन गाएर पैसा उठाउने चलन शुरु भयो । उक्त पैसा विकास तथा निर्माणका नाममा खर्च गरिन्थ्यो । नेवार समुदायभित्र बच्चा जन्मेको अवस्थामा त्यसको दुई वर्षमा अर्थात् दोस्रो जन्म दिनमा सो घरमा योमरी पकाइने गरिन्छ । बच्चाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै योमरीको माला लगाइदिएर भ¥याङ चढाउने चलन छ । त्यस्तै, बुढाबुढीको जंकु (बुढेसकालमा गरिने एक प्रकारको संस्कार) मा समेत योमरी पकाइने गरिन्छ । जंकु गर्दा उमेरअनुसार फरक–फरक जस्तै– ८० वर्षमा आठ र ९० वर्षमा ९ वटा योमरीको माला लगाई जात्रा गरिन्छ । पहिले योमरीको नाममा देउसी–भैलोजस्तै गरी खेलिनेसमेत गरिन्थ्यो । आजभोलि भने योमरी पुन्हीका दिन सांस्कृतिक कार्यक्रम गर्ने गरिन्छ ।

बनाउने विधि

योमरी नेवार समुदायमा मात्र नभएर अन्य समुदायमा समेत लोकप्रिय हुँदै गएको छ । काठमाडौं उपत्यकाका अधिकांश नेवारी खाजा घरमा योमरी खान पाइन्छ । चामलको पिठोलाई माछाजस्तो स्वरूप बनाएर यसभित्र चाकु, तिल, खुवा, भुजा र नुन राखेर योमरी बनाउन सकिन्छ । योमरी बनाउँदा मःम पकाउने विधि (पानीको बाफमा) अनुसार पकाइन्छ । परम्परागत तरिकाले बनाउँदा अलि फरक छ । परालमा राखेर बाफबाट पकाउने चलन छ । तेल वा चिल्लो नहुने भएकाले यो परिकार स्वास्थ्यका लागि समेत लाभदायी हुन्छ ।

जय गुरुदेव |

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।