गोरखामा बैशाख २२ गतेदेखि २०औँ सवा लाख रोट महोत्सव हुने

गोरखामा आगामि वैशाख २२ गतेदेखि २० औँ सवालाख रोट महोत्सव हुने भएको छ । गोरखा सदरमुकाममा सिद्धाश्रम शक्तिकेन्द्रले शनिबार पत्रकार सम्मेलन गर्दै सो बिषयमा जानकारी गराएको हो ।

गोरखनाथ गुफामा वैशाख २२ गते देखि जेठ १ गतेसम्म महोत्सव संचालन हुने सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रीय अध्यक्ष रामजी अर्यालले बताए । महोत्सवको पहिलो दिन गोरखा बजारस्थित सिद्धाश्रम शक्ति केन्द्रबाट बिहान ८ बजे शोभायमान रथसहित बाजा, कलश सहितका एक सय आठ कन्याहरू, नाथयोगीहरू, प्लेकार्ड र व्यानरसहित गोरखा बजारदेखि गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिनेछ । सोही दिनदेखि गुरु गोरखनाथलाई रोट चढाउनुका साथै झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरूको वरण कार्यक्रम हुने अध्यक्ष अर्यालले बताए ।

दोस्रोदिन वैशाख २३ देखि ३१ गतेसम्म गुरु गोरखनाथको विशेष पूजा, देवी देवताहरूको पूजा, विशेष हवन, मन्त्र जप, स्तुति–वन्दना, स्तोत्र पाठ, दिव्य गुरु आरतीलगायत भजनकीर्तन र भण्डार संचालन हुने अर्यालले जानकारी दिए । अन्तिम दिन जेठ १ गते महोत्सवको समापन गरिनेछ ।

महोत्सव संचालनका लागि करिब २५ लाख भन्दा बढी खर्च हुन सक्ने आयोजकले जनाएको छ । महोत्सव गर्न लाग्ने खर्च हरेकवर्ष शक्तिकेन्द्र, साधक, साधिक, भक्तजन र स्थानीय समाजसेवी, संघ संस्थाबाट स्वेच्छिक रुपमा जुटाईने केन्द्रले जनाएको छ । त्यस्तै, ३० हजार भन्दा बढि भक्तजनले अवलोकन गर्ने लक्ष्य केन्द्रले लिएको छ ।

गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेकवर्ष सिद्धाश्रम शक्तिकेन्द्रले बैशाख पूर्णिमादेखि ११ दिनसम्म रोट महोत्सव गरेर रोट अर्पण गर्दै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले महोत्सवले गोरखालाई धार्मिक पर्यटन प्रवद्र्धन गर्नमा धेरै सहयोग पुग्ने बताउँदै महोत्सवलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । महोत्सवले गोरखाको धार्मिक, साँस्कृतिक पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्ने बताउँदै पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले स्थानीयबासीहरुले यसलाई अपनत्व लिएर अघि बढनुपर्ने बताए ।

गोरखनाथ मन्दिरका मुख्य पुजारी प्रदीपनाथ योगीले रोट महोत्सव गोरखाको उत्सव भएको बताउँदै यसले मानिसमा आध्यात्मिक चिन्तनको विकास समेत गराएको बताए ।

विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवालाख रोट महोत्सव गर्दै आएको छ । गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितिमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।

देशका बिभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको छ । गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ ।

गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन् ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।