बेरोजगार युवाहरुका लागि स्थानीय सरकारको भूमिका
भरत शर्मा✍️
पढेर के गर्नु जागिर पाईदैन, खेतिपाति गरुँ भने पनि जग्गा छैन,जग्गा भएपनि खेतिपाति गर्ने शिप छैन, उत्पादित बस्तुले बजार पाउँदैन,बिदेश जाउँ भने पैसा छैन यस्तै यस्तै कुराहरुमा आजका युवाहरु के गरु के गरुँ भन्ने दोधारमा किंम कर्तब्यबिमुढ भएर अल्झिरहेका देखिन्छन।यिनीहरुको दुःख दर्द कसले बुझिदिने,सुनिदिने ? घरका बुवा आमा पनि अरुका छोरा छोरी काममा लागिरहेको देखेर आफ्ना छोरा छोरी पनि केही न केही काममा लागिदिए हुन्थ्यो भन्ने आशा गरिरहेका हुन्छन र बराबर काम खोज न भनेर सुनाईरहेका र दबाब समेत दिइरहेका हुन्छन।गाउँघर छिमेकीहरु पनि बेरोजगार बसेकालाई हेप्ने कुरा काट्ने र खिसीटिउरी गरीरहेका हुन्छन।यस्तो अवस्थाबाट गुज्रिरहेका युवाहरुलाई सही बाटो देखाउने र रोजगारमूलक कामको लागि बाताबरण बनाईदिने काममा स्थानीय सरकारले भूमिका खेल्नु पर्दछ।आजका युवाहरुको यो समस्यालाई बुझ्न सक्ने सरकार नै लोकप्रीय हुने देखिन्छ ।
शैक्षिक बेरोजगार युवाहरुका लागि सबैभन्दा प्राथमिकता दिएको क्षेत्र भनेकै जागिर हो । सकेसम्म स्थायी सो नभए करार तर्फ भएपनि जागिर नै गर्ने चाहना सबैमा हुन्छ । स्थायी जागिरको लागि लोक सेवा लगायत अन्य सेवा आयोगका परीक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ, जुन प्रतिष्पर्धात्मक र कठिन हुने गर्दछ।करार सेवामा पनि कतै प्रतिष्पर्धा गर्ने गरिन्छ भने कतै सोझै संझौता पनि गराइन्छ। सोझै संझौता गराउनुमा सोर्सफोर्स र नाता संबन्धको संभावना/गुन्जायस रहेको पाइन्छ।सबैको सबै ठाउँमा सोर्सफोर्स,नाता संबन्ध र पहुँच पुग्न सक्ने कुरा हुदैन।यस कुराले एक जनालाई फाइदा भएपनि धेरै जनालाई निरास बनाईरहेको हुन्छ।यस्तो कुरामा स्थानीय सरकारले निष्पक्षता कायम राख्न सक्नु पर्छ।त्यसैले स्थानीय सरकारले शैक्षिक बेरोजगारहरुका लागि ठोस कार्यक्रम ल्याउनु आजको टड्कारो आवश्यकता भएको छ।शैक्षिक बेरोजगारहरुको तथ्यांक लिनु जरुरी हुन्छ, जसबाट के कस्ता बेरोजगारहरु रहेका छन भन्ने जानकारी तथ्यांकबाट मात्रै थाहा हुन्छ।उनिहरुको लागि पहिलो प्राथमिकतामा रहेको क्षेत्रको पहिचान गरी सो को लागि शिपमूलक, जानकारीमूलक र प्रतिष्पर्धामूलक तालिमको ब्यवस्था गरीदिनु पर्छ।जागिर खान चाहनेहरुका लागि सबै सेवा समुहलाई चाहिने लोकसेवा,अन्य सेवा आयोग तयारी कक्षा संचालन गरेर युवाहरुलाई सघाउन सकिन्छ,जसबाट धेरै युवा युवतीले सो परीक्षा उत्तिर्ण गर्न सफल हुन्छन र लाभान्वित हुन्छन भने उध्योग ब्यवसाय गर्न चाहनेलाई उध्यमशिलता बिकास तालिम,शिपबिकास तालिम,अनुदान र बित्तीय क्षेत्रबाट ऋणको ब्यवस्था गरीदिन सकिन्छ ।
जग्गा नहुने ब्यक्तिहरुका लागि जग्गाधनीहरुसंग सम्झौता गराइदिएर जग्गा उपलब्ध गराईदिन र कृषि र पशुपालन संबन्धी तालिम,मल बिउ औषधि रऔजारहरु दिन सकिन्छ ।बिदेश जान खोज्नेहरुलाई सकेसम्म बिदेश जान लाग्ने खर्चले स्वदेशमै केही गर्ने बाताबरण बनाएर सहयोग गर्न सकिन्छ।सकेसम्म स्वरोजगार बनाउने खालका कार्यक्रममा जोड दिनु पर्छ,जो दीगो र फाइदाजनक हुन्छ।आजको दिनमा युवाहरुको भावनालाई जुन सरकारले बुझ्न र समेट्न सक्यो,सोही अनुसार योजना बनाउन सक्यो त्यही सरकार नै जनपृय र सफल हुन सक्ने देखिन्छ ।