आज विश्वकर्मा पूजा

असोज महिनाको १ गते अर्थात् कन्या संक्रान्तिलाई निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजाका रूपमा पनि मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् ।

विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार शिल्पकार र यानहरूका रचयिता तथा निर्माता हुन् । शास्त्रहरूका अनुसार, विश्वकर्मा ब्रह्माका पुत्र हुन् । यिनका ५ छोराहरू र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक श्रोतका मालिक भगवान सूर्यसँग भएको थियो ।

विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रूपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणा हुन् । यतिखेरको आधुनिक युगमा पनि उनले वैदिककालमा गरेको प्रविधि तथा अनेक निर्माणका अभ्यासहरूको सम्मान स्वरूप नेपालका अधिकांश ग्यारेज, कारखाना, उत्पादन प्रविधि स्थल अनि धातुका विविध कार्यहरूमा सक्रिय विविध कार्यस्थलहरू एकदमै सजिसजाऊ अनि झकिझकाऊ हुने गर्छन ।

विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मूर्ति सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरूको विशेष पूजा गरिन्छ । तसर्थ, आजको दिन सार्वजनिक यातायातका साधनहरू सहज उपलब्ध नहुन सक्छन् ।

विश्वकर्मा पूजाकै दिन हरेक वर्ष असोज महिनाको १ गते, कन्या संक्रान्ति पारेर वास्तु दिवस मनाइने चलन छ । हरेक निर्माण संरचनाहरूको ढाँचा तयार गर्दा वास्तुलाई प्राथमिकतामा राखिन्छ । आजभोखि यो चलन पूर्वीय सभ्यतामा मात्र नभई पश्चिमाहरूमा पनि निकै प्रचलित छ । वास्तुविधा पनि एउटा प्राचीनतम् विज्ञान, वेद र खोजको धार हो । विश्वकर्मा बाबा निर्माणका पर्याय हुन् । यिनी वास्तुविधाका पनि जानकार थिए । यसै कुरालाई मध्यनजर राख्दै एकै दिन विश्वकर्मा पूजा र वास्तु दिवस मनाइन्छ ।

दिशा र कोणहरू निर्धारण गरेर, पञ्चतत्वको अवस्थिति अनि जमिनको आकारलाई आधार मानेर तय गरिने वास्तुसीप अनुरूपको ढाँचा बनाइएमा उक्त संरचनामा सदैव सुख, समृद्धि अनि ऐश्वर्यको बास रहन्छ भन्ने विश्वास पाइन्छ । वास्तुशास्त्र अनुसार विश्वमा बनाइएको एकमात्र शहर भने सिंगापुर रहेको बताइन्छ । प्राचीनतम् वास्तुशास्त्रको आधुनिक अवलम्बन अनुरूप सिंगापुरको वास्तु आत्मसात् आजको विश्वका लागि ज्वलन्त उदहारण हो ।

Related Post
श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्री स्वस्थानी परमेश्वरी र व्रतको महिमा

श्रीस्वस्थानी माताको व्रत विधि र कथा विभिन्न भाषामा पाइन्छ । नेपाली भाषाका ग्रन्थहरूमा व्रत विधि र संस्कृत भाषाका श्रीस्वस्थानी व्रतकथा (संस्कृत भाषा) पद्मपुराणबाट लिइएको छ भने कथाको स्रोत स्कन्दपुराण केदारखण्ड माघ माहात्म्यलाई दिइएको छ ।

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

षटतिला एकादशी व्रत माहात्म्य (माघ २६ गते षट्तिला एकादशि व्रत)

यस एकादशिमा तिलको अत्यन्त महत्व रहेको छ । तिलको ६ प्रकारको प्रयोगबाट हजारौ जन्ममा गरेको पाप कर्महरु नाश हुने मन्याता छ भने मृत्यु पछी बैकुंठ मा बास हुने छ । बिहान सुर्यदय भन्दा पहिला उठेर जलमा तिल मिसाएर स्नान गर्नु पर्दछ ।