फूलको माला ओइलाई गयो: दधिराम शर्मा
(सञ्चारका साधन चिठीमात्र भएको अवस्थाको घटना)
दशैंको टीकाको दिन आफ्नी एक मात्र बहिनी सीमालाई हतार हतार टीका लगाइ दिएर अर्को वर्षको तिहारमा बहिनीको हातको टीका थाप्न आउने प्रण गर्दै विदा भएको दाजु जीत बहादुर भारतीय सेनामा हाजिर भएको छ महिना पछि काश्मिरको विवादित क्षेत्रमा सैन्य मोर्चा सम्हाल्न पुग्छ। त्यहाँ लामो समयसम्म युद्ध चलिरहन्छ। सैयौँको सङ्ख्यामा सैनिकहरुको हताहती हुन्छ। लड्दै जाँदा अझ सीमा रेखातिर जानुपर्ने वाध्यता हुन्छ। मर्नु न बाँच्नुको दोसाँधमा रहेको जीत बहादुर तिहारमा आफ्नी एक मात्र टुहुरी(बाबुआमा नभएकी) बहिनीको हातको टीका लगाउन जान नसक्ने परिस्थिति निर्माण भएको पाउँछ। चिन्ता, भय र आशङ्काबीच आफ्नी प्यारी बहिनीलाई यसरी संझन्छ:
सीमाना पारि नौ डाँडा पारि वैरीकाे गाउँबाट
लेख्दै छु चिठी हे मेरी बहिनी बिरानो ठाउँबाट
दिएको थिएँ वचन् तिहारमा आउँला भनेर
बसेकी हौली मुलबाटो हेर्दै ती आैला गनेर
वैरीको गाउँ,विरानो ठाउँ,विरानो प्रकृति
तैपनि छाती थाप्नु नै पर्ने वैरीको अगाडि
चारैतिरबाट रिपुले घेर्यो,लल्कार्छ बोलीले
उडाउन सक्छ यो मेरो छाती शत्रुको गोलीले
रतिभर छैन जीवनको आशा जीउ छुरी धारमा
अकेली अनाथ टुहुरी बहिनी विव्हल छिन् घरमा
(वायाँ हातमा गोली लाग्छ)
भर्खरै बज्र्यो दुश्मनी गोली यो बायाँ हातमा
कोही छैन मलाई पियाउने पानी यो मध्य रातमा
राखेकी होलिन् बहिनीले माला उनेर दाजुलाई
दाजुको निम्ति उनेको माला सुक्ने भो वोइलाई
(फेरि छातीमा गोली लाग्छ र भुइमा ढल्छ अनि इहलीला समाप्त हुन्छ)
यता दाजु आउलान् र टीका लगाउँला भनेर बाटो हेरेर बसेकी बहिनीको मनमा अनेक प्रकारका आशङ्काहरु उब्जिन थाल्छन र मनमा विरहको भाव उत्पन्न हुन्छ)
गएका वर्ष दिन् बिती गए केही खबर् आएन
विरानो देश्मा मर्दो र जिउँदो केही पत्तो लाएन
पङ्क्षी म भए उडेर जान्थेँ,दाजुलाई भेट्नलाई
दाजुको चिन्हो यो सानो फोटो तिर्सना मेट्नलाई
(बहिनीलाई दाजुको मृत्यूको खबर रहेको चिठी संयोगवस तिहारको टीकाको दिन नै हुलाकीद्वारा प्राप्त हुन्छ।)
गएको राती सपना देखेँ सर्पले खेदेको
चिठीमा किन हुलाकी दाजु रातोले लखेको?
न त छन् मेरा आमा र बाबु न त छन् दिदी भाइ
न त छन् मेरा काका र काकी न त छन् मामा नै
जीवनमा आफ्नो भन्नु नै केवल ती दाजु फगत
विदेशी माटो रङ्गियो कठै बगेर रगत
मनको चाह अधुरै रह्यो दाइ टीका लाउनलाई
दाजुको निम्ति उनेको माला सुक्ने भो वोइलाई
दाजुको रगत बहिनीको आँसु दुखको कहानी
वास्तविक देखेँ,मनले लेखेँ नजानी नजानी।
(लेखक शर्मा मुनपा ६,भुवाचिदी बजार स्थित त्रिभुवन मा बि मा कार्यरत शिक्षक हुनुहुन्छ)